स्थानीयसभाको कानुन निर्माण प्रकृया सम्बन्धी कार्यशाला

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको आयोजना र जिआइजेट तथा सम्बन्धित गाउँपालिकाको आर्थिक सहयोगमा तीनवटा गाउँपालिकामा संसदीय अभ्यास सिकाइ कार्यशाला हालै सम्पन्न भएको छ । रुपन्देहीको सियारी, सल्यानको त्रिबेणी र बाँकेको बैजनाथ गाउँपालिकामा संचालन गरिएको २ दुई दिने कार्यशाला मा गाउँसभा संचालन र कानुन निर्माण प्रकृयामा नमुना अभ्यास गराईएको थियो ।

कार्यशालामा सम्बन्धित प्रदेशले बनाएको कानूनअनुसार स्थानीय तहको सभा सञ्चालन प्रक्रिया र स्थानीय कानून निर्माण प्रकृयाका विषयमा नमुना गाउँसभा नै सञ्चालन गरिएको थियो । कार्यशालामा सम्बन्धित गाउँसभाका सबै सदस्यहरू र शाखा प्रमुखहरूको सहभागिता रहेको थियो । दुवै कार्यशालामा विधेयकहरूको तयरी, सभामा विधेयक प्रस्तुत, छलफल, र पारित गर्ने प्रक्रियाहरूको जानकारी दिन नमुना गाउँसभा गरिएको थियो ।

गाउँसभा सञ्चालन प्रक्रिया र कानून निर्माण प्रक्रियाबारे प्रशिक्षित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ४÷४ वटा क्षेत्रको कानूनसमेत तर्जुमा समेत गरिएको छ । सियारीमा संचालित कार्यशालामा गाउँप्रहरी विधेयक, शिक्षा विधेयक र सार्वजनिक खरिद नियमावली माथी अभ्यास गरिएको थियो ।

त्यसैगरी त्रिवेणी गाउँपालिकामा संचालित कार्यशालामा एफ.एम.रेडियो संचालन र व्यवस्थापन विधेयक, संघसंस्था दर्ता विधेयक, उद्योग विधेयक र आधारभुत स्वास्थ्य तथा सरसफाई विधेयकमा छलफल गरिएको थियो । वैजनाथ गाउँपालिकामा भएको कार्यशालामा स्थानीय शिक्षा विधेयक, आधारभुत स्वास्थ्य तथा सरसफाई विधेयक, स्थानीय पूर्वाधार विकास व्यवस्थापन विधेयक र संघसंस्था दर्ता विधेयकमा अभ्यास गरिएको थियो ।

दुवै कार्यशालाको सहजिकरण महासंघका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेल, अधिवक्ताहरू प्रेमप्रसाद धिताल र हरिप्रसाद मैनालीले गरेका थिए ।